अपि हिमाल गाउँपालिकाका नेपाली कांग्रेस सभापति सोभनसिंह लोथ्यालमाथि काम नगरी भुक्तानी लिएको आरोप लागेको छ। गाउँपालिकाले झण्डै १२ लाख रुपैयाँको लागत अनुमानमा बयली घोरेटो बाटो निर्माणका लागि लोथ्याल सञ्चालक रहेको लोथ्याल निर्माण सेवालाई जिम्मेवारी दिएको थियो।
स्थानीय स्रोतका अनुसार, बयली क्षेत्र मानव बस्तीबाट करिब एक दिनको पैदल दूरीमा पर्ने दुर्गम क्षेत्र हो। यही दुर्गमता र पहुँचको अभावको फाइदा उठाउँदै सभापति लोथ्यालले काम नगरी गाउँपालिकामा फर्जी अनुगमन तथा मूल्यांकन प्रतिवेदन पेस गरी रकम निकासा गराएको आरोप लागेको हो।
गाउँपालिकाका आन्तरिक स्रोतका अनुसार, उक्त प्रतिवेदनका आधारमा ११ लाख रुपैयाँ कम्पनीको खातामा जम्मा गरिएको थियो। तर, केही स्थानीयले विरोध गरेपछि कार्यकारी प्रमुखले फिल्ड निरीक्षण गर्दा काम अपूरो र प्रतिवेदन जाली भएको पुष्टि भएपछि बैंक खाता रोक्का गरिएको जनाइएको छ।
यसपछि सभापति लोथ्यालले आफू निकट वडाध्यक्ष र कर्मचारीमार्फत खाता खुलाउन दबाब दिएको समेत खुलेको छ। स्थानीयबासीका अनुसार, लोथ्याल यसअघि पनि स्वास्थ्य चौकी र वडानं. ३ को बर्थिङ सेन्टर घेरपर्खाल निर्माणमा अनियमितता गरेको आरोपमा विवादित रहँदै आएका छन्।

