कार्य जीवन सन्तुलन (Work-Life Balance) संगठनात्मक अध्ययन, मानव स्रोत व्यवस्थापन र समाजशास्त्रको एक महत्वपूर्ण विषयका रूपमा विकसित भएको छ। विश्वव्यापीकरण, प्रविधिको विकास र प्रतिस्पर्धात्मक कार्य वातावरणका कारण कार्य र व्यक्तिगत जीवनबीचको सन्तुलन चुनौतीपूर्ण विषय बन्दै गएको छ। कार्य जीवन सन्तुलन केवल व्यक्तिगत सन्तुष्टिको विषय मात्र होइन, संगठनात्मक उत्पादकत्व र सामाजिक स्थायित्वसँग पनि प्रत्यक्षरुपले सम्बन्धित विषय हो। यसले व्यक्तिको मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र पेशागत व्यवसायिकतामा प्रत्यक्ष प्रभाव पार्दछ। कार्यजीवन सन्तुलन यस्तो बहुआयामिक अवधारणा हो, जसमा व्यक्तिगत, संस्थागत र सामाजिक पक्षहरूको समन्वय आवश्यक हुन्छ।
कार्य–जीवन सन्तुलन संस्थागत कार्यसंस्कृति, संगठनात्मक व्यवहार, कर्मचारी उत्प्रेरणा र उत्पादकत्व वृद्धिका दृष्टिले अत्यन्त अपरिहार्य मानिन्छ, किनकि यसले कर्मचारीको समग्र कल्याण र कार्यक्षमतामा प्रत्यक्ष प्रभाव पार्दछ। जब कुनै संस्थाले कर्मचारीलाई काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न सहयोग गर्ने वातावरण, जस्तै लचिलो कार्यसमय, उचित विश्राम, मानसिक स्वास्थ्यप्रति संवेदनशीलता,प्रदान गर्छ, तब कर्मचारीमा सन्तुष्टि, काम प्रति प्रतिबद्धता र संस्थाप्रति निष्ठा बढ्छ। सकारात्मक संगठनात्मक व्यवहार विकास भई आपसी सहयोग, विश्वास र सामूहिक तत्परता मजबुत हुन्छ। यसको परिणामस्वरूप कर्मचारीको उत्प्रेरणा उच्च हुन्छ, अनुपस्थिती र थकान (Burnout) घट्छ, र कार्यप्रदर्शन तथा उत्पादकत्वमा उल्लेखनीय वृद्धि हुन्छ। त्यसैले, कार्य–जीवन सन्तुलन केवल व्यक्तिगत आवश्यकता मात्र नभई संस्थागत दीर्घकालीन सफलता र दिगोपनाको लागि रणनीतिक आवश्यकता हो।
कार्य जीवन सन्तुलनका सिद्धान्तहरू
विभाजन सिद्धान्त( Segmentation Theory)
Robert Dubin द्वारा प्रतिपादित यस सिद्धान्त अनुसार काम र व्यक्तिगत जीवन पूर्ण रूपमा छुट्टाछुट्टै क्षेत्रहरू हुन्। कुनै एक क्षेत्रमा भएका गतिविधिहरूले अर्को क्षेत्रमा प्रभाव पार्दैनन् वा पार्नुहुदैन भन्ने कुरामा यस सिध्दान्तले जोड दिएको छ। यस सिद्धान्त अनुसार काम (Work/ Job) र व्यक्तिगत जीवन (Life) दुई पूर्ण रूपमा अलग अलग क्षेत्रहरू हुन्, जसबीच कुनै प्रत्यक्ष प्रभाव वा अन्तरनिर्भरता हुँदैन। यस सिद्धान्तले व्यक्तिले आफ्नो पेशागत भूमिकालाई कार्यस्थलमै सीमित राख्ने र पारिवारिक तथा व्यक्तिगत जीवनलाई त्यसबाट अलग राख्ने धारणा प्रस्तुत गर्छ। उदाहरणका रूपमा, कार्यालयको तनाव, निर्णय वा जिम्मेवारीलाई घरमा नल्याउने र घरको व्यक्तिगत समस्या कार्यस्थलमा असर नपार्ने व्यवहारलाई Segmentation को अभ्यास मानिन्छ। यस दृष्टिकोणले स्पष्ट सीमा (Boundary) कायम गरी मानसिक शान्ति र अनुशासित जीवनशैली विकास गर्न मद्दत गर्छ, तर व्यवहारमा पूर्ण रूपमा यस्तो विभाजन कायम गर्नु सधैं सम्भव नहुने पनि देखिन्छ।
प्रभाव हस्तान्तरण सिद्धान्त ( Spillover Theory)
Harold Wilensky द्वारा प्रतिपादित यस सिद्धान्तले काम र व्यक्तिगत जीवनबीच सकारात्मक वा नकारात्मक प्रभाव सर्ने कुरा बताउँछ। यस सिध्दान्त अनुसार काम र व्यक्तिगत जीवनबीच स्पष्ट विभाजन हुँदैन, बरु एक क्षेत्रको अनुभव, भावना र व्यवहार अर्को क्षेत्रमा “सर्ने” (Spill over) गर्छ। यस सिद्धान्तले सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रभावहरूलाई समेट्छ। उदाहरणका लागि, कार्यस्थलमा प्राप्त सफलता, सन्तुष्टि वा सकारात्मक ऊर्जा घरपरिवारमा पनि खुसी र सद्भावका रूपमा देखिन सक्छ भने कामको तनाव, थकान वा असन्तुष्टि घरमा चिडचिडापन र सम्बन्धमा दूरीका रूपमा प्रकट हुन सक्छ। यसरी, Spillover Theory ले कार्य–जीवन सन्तुलनलाई दुई पृथक क्षेत्रको रूपमा नभई एक–अर्कामा अन्तरनिर्भर र प्रभावकारी रूपमा जोडिएका आयामहरूको रूपमा व्याख्या गर्दछ, जसले व्यक्तिको समग्र जीवनस्तरमा गहिरो प्रभाव पार्छ।
क्षतिपूर्ति सिद्धान्त ( Compensation Theory)
Graham Staines का अनुसार व्यक्तिले एक क्षेत्रमा भएको असन्तुष्टिलाई अर्को क्षेत्रमा पूर्ति गर्ने प्रयास गर्छ। यस सिद्धान्त अनुसार व्यक्तिले जीवनको एक क्षेत्रमा अनुभव गरेको असन्तुष्टि, तनाव वा अपूर्णतालाई अर्को क्षेत्रमा पूर्ति गर्ने प्रयास गर्छ। यस सिद्धान्तले काम र व्यक्तिगत जीवनबीच प्रतिसन्तुलनको व्यवहार देखाउँछ, जहाँ एक क्षेत्रमा कमी भए अर्को क्षेत्रमा बढी संलग्नता मार्फत सन्तुष्टि खोजिन्छ। उदाहरणका लागि, कार्यस्थलमा दबाब, थकान वा सन्तुष्टिको अभाव भएमा व्यक्ति परिवारसँग बढी समय बिताउने, सामाजिक गतिविधिमा सहभागी हुने वा मनोरञ्जनमा ध्यान दिने गर्छ। यसरी, Compensation Theory ले कार्य–जीवन सन्तुलनलाई प्रत्यक्ष सन्तुलनभन्दा पनि “पूरक प्रक्रिया” का रूपमा व्याख्या गर्दै, व्यक्तिले आफ्नो समग्र सन्तुष्टि कायम राख्न विभिन्न जीवन क्षेत्रहरूबीच समायोजन गर्ने प्रवृत्तिलाई उजागर गर्दछ।
द्वन्द्व सिद्धान्त (Conflict Theory)
Jeffrey Greenhaus र Nicholas Beutell द्वारा विकसित यस सिद्धान्तले काम र व्यक्तिगत जीवनबीच समय, ऊर्जा र भूमिकाको द्वन्द्व हुने बताउँछ। द्वन्द्व सिद्धान्त अनुसार काम (Work/ Job) र व्यक्तिगत जीवन (Family/Personal Life) बीच स्वभावतः द्वन्द्व उत्पन्न हुन्छ, किनकि दुवै क्षेत्रमा समय, ऊर्जा र व्यवहारगत अपेक्षाहरू सीमित स्रोतहरूमा आधारित हुन्छन्। यस सिद्धान्तले विशेषगरी तीन प्रकारका द्वन्द्वलाई व्याख्या गर्छ:
(१) Time-based conflict—एक भूमिकामा दिएको समयले अर्को भूमिकामा समय दिन नसक्नु,
(२) Strain-based conflict—एक क्षेत्रको तनावले अर्को क्षेत्रमा नकारात्मक प्रभाव पार्नु, र
(३) Behavior-based conflict—एक भूमिकामा अपेक्षित व्यवहार अर्को भूमिकासँग नमिल्नु। उदाहरणका रूपमा, कार्यस्थलको लामो समय र उच्च दबाबका कारण परिवारलाई समय दिन नसक्नु वा कामको तनाव घरमा पनि असर पार्नु यस सिद्धान्तका प्रत्यक्ष अभिव्यक्ति हुन्।
यसरी, Conflict Theory ले कार्य–जीवन सन्तुलन कायम गर्न सीमित स्रोतहरूको प्रभावकारी व्यवस्थापन र भूमिकाबीच समन्वयको आवश्यकता औंल्याउँछ।
सीमा सिद्धान्त (Border Theory)
Sue Campbell Clark ले प्रस्ताव गरेको यस सिद्धान्त अनुसार काम र जीवनबीचको सीमा (Boundary) कसरी व्यवस्थापन गरिन्छ भन्नेमा सन्तुलन निर्भर हुन्छ। सीमा सिद्धान्त अनुसार काम र व्यक्तिगत जीवन दुई पृथक क्षेत्र भए पनि तिनका बीचमा रहने सीमा (Borders) को प्रकृति र व्यवस्थापनले कार्य–जीवन सन्तुलन निर्धारण गर्दछ। यी सीमाहरू भौतिक (जस्तै: कार्यस्थल र घर), समयगत (कार्यालय समय र व्यक्तिगत तथा पारिवारिक समय) र मनोवैज्ञानिक (सोच, भावना, व्यवहार) हुन सक्छन्। व्यक्तिले यी सीमाहरूलाई कति कडा वा लचिलो बनाउँछ भन्ने कुराले काम र जीवनबीचको अन्तरक्रिया तय हुन्छ। कडा सीमा भएमा Segmentation बढ्छ भने लचिलो सीमा भएमा Integration बढ्छ। उदाहरणका रूपमा, घरबाट काम गर्ने व्यक्तिले काम र व्यक्तिगत समयबीच स्पष्ट सीमा बनाउन नसक्दा दुवै क्षेत्र एकआपसमा मिसिन सक्छन्। यस सिद्धान्तले प्रभावकारी सीमा व्यवस्थापनमार्फत सन्तुलन कायम गर्न सकिने कुरा जोड दिँदै, व्यक्ति, परिवार र संगठनबीचको समन्वयलाई महत्त्वपूर्ण मान्दछ।
समृद्धि सिद्धान्त( Enrichment Theory)
Jeffrey Greenhaus र Gary Powell का अनुसार एक क्षेत्रको अनुभवले अर्को क्षेत्रलाई सकारात्मक रूपमा समृद्ध बनाउँछ। यस सिध्दान्त अनुसार काम र व्यक्तिगत जीवन बीचको सम्बन्ध केवल द्वन्द्वमा सीमित हुँदैन, बरु एक क्षेत्रका अनुभव, सीप, ज्ञान र सकारात्मक भावनाहरूले अर्को क्षेत्रलाई पनि समृद्ध बनाउन सक्छन्। यस सिद्धान्तले Work to Family Enrichment र Family to Work Enrichment भन्ने दुई दिशात्मक प्रभावलाई व्याख्या गर्छ। उदाहरणका रूपमा, कार्यस्थलमा प्राप्त नेतृत्व क्षमता, समय व्यवस्थापन वा समस्या समाधान गर्ने सीप घरपरिवारमा उपयोगी हुन सक्छ भने पारिवारिक सहयोग, भावनात्मक समर्थन र सामाजिक मूल्यहरूले काममा प्रेरणा र उत्पादकता बढाउन सक्छन्। यसरी Enrichment Theory ले कार्य जीवन सन्तुलनलाई सकारात्मक समन्वयको प्रक्रियाका रूपमा व्याख्या गर्दै दुवै क्षेत्रबीच सहसम्बन्ध सम्भव रहेको देखाउँछ।
भूमिका सिद्धान्त (Role Theory)
Robert Kahn द्वारा प्रतिपादित भूमिका सिद्धान्त अनुसार प्रत्येक व्यक्तिले समाजमा विभिन्न भूमिका जस्तै कर्मचारी, अभिभावक, पति/पत्नी, मित्र आदि निर्वाह गर्नुपर्ने हुन्छ, र यी भूमिकाहरूका आफ्नै अपेक्षा, जिम्मेवारी र व्यवहारगत मान्यताहरू हुन्छन्। जब यी विभिन्न भूमिकाहरूका मागहरू एक अर्कासँग असंगत वा प्रतिस्पर्धात्मक हुन्छन्, तब Role conflict र Role Overload जस्ता समस्या उत्पन्न हुन्छन्, जसले कार्य–जीवन सन्तुलनलाई प्रभावित गर्छ। उदाहरणका रूपमा, कार्यालयको जिम्मेवारी पूरा गर्नुपर्ने दबाब र परिवारलाई समय दिनुपर्ने दायित्वबीच द्वन्द्व हुनु Role Theory को मुख्य अभिव्यक्ति हो। यस सिद्धान्तले व्यक्तिले विभिन्न भूमिकाहरूबीच समन्वय, प्राथमिकता निर्धारण र प्रभावकारी समय व्यवस्थापनमार्फत सन्तुलन कायम गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ। Robert Kahn ले व्यक्तिले बहुविधा भूमिका निर्वाह गर्दा सन्तुलन चुनौतीपूर्ण हुने कुरा उल्लेख गरेका छन्।
उपरोक्त सिद्धान्तहरूलाई दुई प्रमुख धारमा वर्गीकृत गर्न सकिन्छ:
• द्वन्द्व केन्द्रित सिद्धान्तहरू: Conflict Theory, Role Theory
• समन्वय केन्द्रित सिद्धान्तहरू: Enrichment Theory, Spillover Theory
यसबाट स्पष्ट हुन्छ कि कार्य–जीवन सन्तुलन केवल समस्या मात्र होइन, अवसर पनि हो।
कार्य–जीवन सन्तुलनका असल अभ्यासहरू भन्नाले काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न अपनाइने व्यवहारिक र संस्थागत उपायहरूलाई जनाउँछ, जसले व्यक्तिको स्वास्थ्य, सन्तुष्टि र कार्यक्षमता वृद्धि गर्न मद्दत गर्छ। यस्ता अभ्यासहरूमा स्पष्ट कार्यसमय निर्धारण, अतिरिक्त कामको नियन्त्रण, लचिलो कार्य व्यवस्था (Flexible Working Hours), आवश्यक विश्राम र बिदाको उपयोग, तथा डिजिटल सीमाना (Work–Home Boundary) कायम गर्नु प्रमुख छन्। साथै, नियमित व्यायाम, पर्याप्त निद्रा, परिवार र सामाजिक जीवनलाई समय दिनु, तथा तनाव व्यवस्थापनका उपायहरू अपनाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। संस्थागत तहमा हेर्दा, सहयोगात्मक नेतृत्व, कर्मचारीमैत्री नीतिहरू, मानसिक स्वास्थ्यप्रति संवेदनशीलता र कार्यप्रदर्शनमा परिणाममुखी दृष्टिकोणले सकारात्मक कार्यसंस्कृति निर्माण गर्छ। यसरी, असल अभ्यासहरूको अवलम्बनले कर्मचारीको उत्प्रेरणा, उत्पादकत्व र समग्र जीवन गुणस्तरमा दिगो सुधार ल्याउन सहयोग पुर्याउँछ।
कार्य–जीवन सन्तुलनका लागि काम लगाउने निकायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ, किनकि संस्थागत नीतिहरू र कार्यसंस्कृतिले नै कर्मचारीको जीवनशैलीलाई प्रत्यक्ष रूपमा प्रभाव पार्दछ। कुनै पनि निकायले स्पष्ट कार्यसमय, अतिरिक्त काम नलगाउने, लचिलो कार्य व्यवस्था (Flexible Working Hours), घरबाट काम (Remote Work) जस्ता नीतिहरू अवलम्बन गरेर सन्तुलन कायम गर्न सहयोग गर्न सक्छ। साथै, कर्मचारीको मानसिक स्वास्थ्यप्रति संवेदनशीलता, पर्याप्त बिदा र विश्रामको व्यवस्था, तथा परिणाममुखी (Performance Based) मूल्याङ्कन प्रणालीले अनावश्यक दबाब कम गर्छ। नेतृत्व तहबाट सहयोगात्मक र विश्वासमा आधारित व्यवहार हुँदा सकारात्मक संगठनात्मक वातावरण सिर्जना हुन्छ, जसले कर्मचारीको सन्तुष्टि, प्रतिबद्धता र उत्पादकत्व वृद्धि गर्छ। त्यसैले, कार्य–जीवन सन्तुलन प्रवर्द्धन गर्नु नियोक्ताको सामाजिक जिम्मेवारी मात्र नभई संस्थाको दीर्घकालीन सफलता र दिगोपनाका लागि रणनीतिक आवश्यकता पनि हो।
नेपालको सन्दर्भमा कार्य–जीवन सन्तुलन
नेपालमा कार्य–जीवन सन्तुलन भन्नाले पेशागत जिम्मेवारी (सरकारी/निजी काम, व्यवसाय) ,पारिवारिक दायित्व (संयुक्त परिवार, सामाजिक कर्तव्य) , व्यक्तिगत स्वास्थ्य र विश्राम बीचको सन्तुलनलाई जनाउँछ।
नेपालको विशेषता
संयुक्त परिवारको प्रभाव
• नेपालमा धेरैजसो मानिसहरू संयुक्त परिवारमा बस्छन्
• परिवारलाई समय दिनु सामाजिक कर्तव्य जस्तै हुन्छ
• यसले work-life balance लाई सहज पनि बनाउँनमा समस्या उत्पन्न गर्न सक्दछ ।
कामको निश्चित समय तर “after office culture”
• सरकारी कार्यालयहरुमा कार्य समय निश्चित (१०–५ वा अहिले ९– ५ ) हुन्छ
• तर बैठक, सामाजिक कार्यक्रम, अन्य दबाबका कारण समय बढ्न सक्छ
• निजी क्षेत्रमा overtime र job insecurity बढी देखिन्छ
आर्थिक दबाब
• कम आम्दानी, बढ्दो खर्च
• अतिरिक्त थप काम गर्नुपर्ने अवस्था
• यसले सन्तुलन बिगार्न सक्छ
शहरी र ग्रामीण जीवनमा फरक
• शहर : व्यस्त जीवन, तनाव बढी
• गाउँ: सामाजिक सम्पर्क बढी, तर आर्थिक अवसर कम
मुख्य चुनौतीहरू
• काम र व्यक्तिगत समय छुट्याउन नसक्नु
• “काम नै पहिलो” भन्ने सोच
• उत्पादकत्व भन्दा हाजिरी संस्कृति बढी
सुधारका क्षेत्रहरु
आजको व्यस्त जीवनशैलीमा Work Life Balance केवल एउटा आधुनिक अवधारणा मात्र होइन, यो स्वस्थ र सन्तुलित जीवन जिउने आधारभूत आवश्यकता बनेको छ। नेपालको सन्दर्भमा हेर्दा, कार्य–जीवन सन्तुलन पश्चिमी देशहरूभन्दा फरक सामाजिक, सांस्कृतिक र आर्थिक परिवेशमा विकसित भएको देखिन्छ।
नेपालमा काम केवल जीविकोपार्जनको माध्यम मात्र होइन, सामाजिक प्रतिष्ठा र जिम्मेवारीसँग पनि जोडिएको हुन्छ। विशेष गरी सरकारी र निजी क्षेत्रमा काम गर्ने व्यक्तिहरूले आफ्नो पेशागत जिम्मेवारीसँगै पारिवारिक तथा सामाजिक दायित्वहरू पनि उत्तिकै वहन गर्नुपर्ने हुन्छ। संयुक्त परिवार प्रणाली, आफन्तबीचको घनिष्ठ सम्बन्ध, तथा सामाजिक संस्कारहरूले जीवनलाई अर्थपूर्ण बनाउँछन्, तर कहिलेकाहीँ समय व्यवस्थापनलाई चुनौतीपूर्ण पनि बनाउँछन्।
अर्कोतर्फ, शहरी क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, बेरोजगारीको दबाब, र अतिरिक्त आम्दानीको आवश्यकता ले धेरैलाई “काममै केन्द्रित” जीवनशैलीतर्फ धकेलिरहेको छ। यसले मानसिक तनाव, थकान, र पारिवारिक सम्बन्धमा दूरी ल्याउने जोखिम पनि बढाएको छ। यसका लागि Flexible work culture विकास गर्ने जसमा remote work, flexible timing अपनाउन सकिन्छ। साथै उत्पादकत्वमा आधारित मूल्याङ्कन प्रणाली अवलम्बन गर्ने । समय भन्दा कामको नतिजालाई प्राथमिकता दिने गर्नु उपयुक्त हुन्छ ।
कार्य–जीवन सन्तुलन कर्मचारीको उत्प्रेरणा र उत्पादकत्व वृद्धि गर्ने एक अपरिहार्य आधारका रूपमा स्थापित भएको छ। काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम हुन नसक्दा उत्पन्न हुने तनाव, थकान र असन्तुष्टिले कार्यसम्पादनमा नकारात्मक प्रभाव पार्छ भने सन्तुलित जीवनशैलीले मानसिक सन्तुलन, ऊर्जा र सकारात्मक सोचलाई सुदृढ बनाउँदै कार्यक्षमता अभिवृद्धि गर्छ। जब संस्थाले कर्मचारीमैत्री नीतिहरू अवलम्बन गरी सन्तुलित कार्य वातावरण सिर्जना गर्छ, तब कर्मचारीमा उच्च स्तरको प्रतिबद्धता, सन्तुष्टि र प्रेरणा विकास हुन्छ, जसले अन्ततः संगठनको समग्र उत्पादकत्व र दीर्घकालीन सफलता सुनिश्चित गर्दछ। त्यसैले, कार्य–जीवन सन्तुलनलाई व्यक्तिगत आवश्यकता मात्र नभई संगठनात्मक रणनीतिका रूपमा अंगीकार गर्नु आजको अनिवार्य आवश्यकता हो।त्यसैले, कार्य–जीवन सन्तुलन कायम गर्नका लागि व्यक्तिगत प्रयास मात्र पर्याप्त हुँदैन; संस्थागत सुधार, लचिलो कार्यसंस्कृति, र परिवारको सहयोग पनि उत्तिकै आवश्यक हुन्छ। काम र जीवनबीच सन्तुलन कायम गर्न सकियो भने मात्र व्यक्ति वास्तवमा सफल र सन्तुष्ट बन्न सक्छ।
डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्

तपाईको प्रतिक्रिया !