‘वासन्ती सुवास’ एउटा गीत मात्र होइन शब्द, स्वर र संगीतको संगमबाट जीवनमा आशा र वसन्त भित्र्याउने एउटा सांगीतिक निमन्त्रणा पनि हो

नागरिक पाना
२०८३ भाद्र १६, मंगलवार १२:५३

आज हामी नेपाली संगीतको एउटा सुन्दर सहकार्यका बारेमा संवाद गर्दैछौँ प्रशासनविद तथा गीतकार डा. दामोदर रेग्मीको शब्द तथा गायक संगीतकार विराज काफ्लेको स्वर र संगीतमा दिल्लीमा रेकर्ड भै हालै सार्वजनिक भएको वासन्ती सुवास। ‘वासन्ती सुवास’ नाम आफैंमा एउटा सुन्दर प्रतीक हो—वसन्तको आगमन, नयाँ उमङ्ग, आशा र जीवनमा उज्यालोको निमन्त्रणा। वासन्ती सुवास लिएर तिमी आउन भन्ने पंक्तिले केवल कसैलाई बोलाएको छैन, यसले जीवनमा प्रेम, खुसी र सकारात्मकताको आगमनलाई नै निमन्त्रणा गरेको छ। एकातर्फ लामो समय सार्वजनिक प्रशासनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै साहित्य र गीत सिर्जनामा निरन्तर सक्रिय रहनुभएका गीतकार डा. दामोदर रेग्मी हुनुहुन्छ भने अर्कोतर्फ दिल्लीमा गजल र हिन्दुस्तानी शास्त्रीय संगीतको समृद्ध वातावरणमा हुर्किनुभएका गायक तथा संगीतकार विराज काफ्ले हुनुहुन्छ। यी दुई फरक यात्राको संगमबाट जन्मिएको वासन्ती सुवास कस्तो सिर्जनात्मक यात्राको परिणाम हो? शब्दले संगीतलाई कसरी भेट्यो र संगीतले शब्दको भावलाई कसरी स्वर दियो? आज हामी यही यात्राका केही रोचक पाटाहरू खोतल्नेछौँ। शुरुमा गीतकार डा. दामोदर रेग्मीबाट कुराकानीको थानी गर्दैछौं।

वासन्ती सुवासको जन्म कसरी भयो? यो गीतको मूल भाव के हो?

डा. दामोदर रेग्मी: ‘वासन्ती सुवास’ केवल प्रेमको गीत होइन, जीवनमा आशा, उमङ्ग, उज्यालो र सकारात्मकताको आगमनको कामना हो। वसन्त यहाँ ऋतु मात्र होइन, नयाँ सम्भावना र खुसीको प्रतीक हो। त्यसैले मैले ‘वासन्ती सुवास लिएर तिमी आउन’ भनेको हुँ। मेरो गीति संग्रह सिरटोले छुदै छुन्नमा रहेका गीतहरु मध्येको एक गीत हो यो र यो गीत शव्दाङ्कुर साहित्यिक मासिक पत्रिकामा समेत प्रकाशित भएको छ।

 डा. रेग्मी, तपाईं प्रशासन र सार्वजनिक जीवनको लामो अनुभवबाट संगीत तथा साहित्यतर्फ पनि सक्रिय हुनुहुन्छ। तपाईंका लागि गीत सिर्जना के हो?

डा. दामोदर रेग्मी: प्रशासनले मलाई समाज बुझायो, साहित्यले समाजलाई महसुस गर्न सिकायो र गीतले त्यो अनुभूति जनमनसम्म पुर्‍याउने माध्यम दियो। गीत मेरो लागि मनोरञ्जन मात्र होइन, अनुभूति, विचार र जीवनदर्शनको अभिव्यक्ति हो।

तपाईंका गीतमा प्रेम, जीवन र सामाजिक चेतना सबै देखिन्छ। आजको समयमा गीतले समाज परिवर्तनमा भूमिका खेल्न सक्छ?

डा. दामोदर रेग्मी: अवश्य। गीत शुरुमा कानमा प्रवेश गर्छ, तर राम्रो गीत मन र चेतनामा पनि प्रवेश गर्छ। त्यसैले गीत मनोरञ्जनसँगै सकारात्मक सोच, मानवीयता र सामाजिक चेतना जगाउने शक्तिशाली माध्यम हो।

वासन्ती सुवासजस्तो सकारात्मक गीतको आजको पुस्ताका लागि सन्देश के हो?

डा. दामोदर रेग्मी: जीवनमा कठिनाइ आउँछन्, तर संगीतजस्तै जीवनको लय पनि कायम राख्नुपर्छ। वसन्त बाहिर मात्र होइन, हाम्रो मनभित्र पनि आउनुपर्छ। आजको पुस्तालाई निराशाभन्दा आशा, द्वन्द्वभन्दा सद्भाव र अन्धकारभन्दा उज्यालो रोज्नुपर्छ भन्ने सन्देश हो।

तपाईको  शव्दमा आनन्द कार्की देखि आनि छोइंग सम्मले गीत गाउनु भएको छ मिथिला शर्माको अभिनय रेहो छ तपाइको गीत पुरस्कारको नोमिनेसनमा पनि परेको छ । यसरी फरक फरक लोकप्रिय स्रस्टा संग काम गर्नुको कारण बताइदिनोस न ।

डा. दामोदर रेग्मी: मेरो गीतमा पहिलो स्वर दिने व्यक्ति गायक आनन्द कार्की हुनुहुन्छ त्यसपछि प्रताप दास र अनु चौधरीले अरेको गीतमा स्वर दिनु भयो यसै गरि मुरलीधर समीक्षा अधिकारी आनि छोइंग, सुरेश लामा, दीपा लामा र अहिले आएर विराज काफ्लेको स्वरमा मेरो शव्द सजिन पाउनुमा आफूलाई गौरवशाली ठान्दछु । यस्त वरिष्ठ गायक गायिकाले मेरो शव्दमा स्वर दिनुभयो जिन्दगीको पाठशाला भन्ने गीतमा बरिष्ठ कलाकार मिथिला शर्मा र अन्य गीतहरुमा दिपेन्द्र खत्री सोनु ढुंगाना रामहरीखड्का सृष्टि खड्का प्रभात पा ठकुरी अप्सना बलामीले अभिनय गरिदिनु भयो। किरण कडेल डि बि लामा किर्ती न्यौपानेले संगीत दिनुभयो  पुरुषोत्तम सुवेदीले एरेन्जरको भूमिका निर्वाह गरिदिनु भयो सियोन श्रेष्ठ नितिन चन्द उत्तम श्रेष्ठ शिसिर कृष्णदेव रुपाखेतीले भिडियो निर्देशन गरिदिनुभयो म उहांहरु सवै प्रति आभार प्रकट गर्दछु । साथै मेरो गीत जिन्दगीको पाठशालालाई मनोनयन गरिदिने कान्तिपुर परवारलाई पनि धन्यवाद दिन चाहन्छु ।पुराना स्थापित श्रस्टा देखि उदीयमान कलाकारसंगको सहकार्यले पुस्तागत अन्तरसम्बन्ध समेत कायम गर्न सफलता मिल्यो।

आगामी दिनमा तपाईंहरूको सहकार्य र नयाँ पुस्ताका कलाकारलाई अवसर दिने विषयमा के भन्नुहुन्छ?

डा. दामोदर रेग्मी: सिर्जना निरन्तर यात्रा हो। विराजजीसँग आगामी दिनमा पनि सहकार्य गर्ने इच्छा छ। साथै, नयाँ प्रतिभालाई अवसर दिनु भनेको केवल कलाकारलाई अवसर दिनु होइन, नेपाली संगीतको भविष्य निर्माण गर्नु हो। पुरानो अनुभव र नयाँ ऊर्जाको मिलनबाट नै नेपाली संगीत अझ समृद्ध बन्न सक्छ। यी दुवै पक्षमा रहेर  नेपाली गीत संगीतको उत्थानमा मैले काम गर्नेछु।

अव लागौं विराज काफ्ले तर्फ

विराजजी तपाइले गीत कहिले देखि कसरी गाउन थाल्नु भयो ?

विराज काफ्ले: बाल्यकालमै परिवारले मलाइ सङ्गीतप्रति रुचि देखाइदियो र त्यसलाई निरन्तर प्रोत्साहन मिल्यो। तेह्र वर्षको उमेरमा कालीप्रसाद रिजाल र राजेन्द्र थापाका रचना पाएँ। ती गीत रेडियो नेपालमा रेकर्ड भई म्युजिक नेपालको सबैको लागि एल्बम बन्यो। सोह्र वर्षको उमेरमा एकल साँझमा एकल गायकका रूपमा उभिने अवसर आयो। त्यहाँ एल्बमका गीतसँगै बसन्त ढकाल, शैलेन्दु प्रकाश नेपाल र नरेन्द्र भट्टका रचना पनि प्रस्तुत भए। त्यहीँबाट गाउने यात्रा औपचारिक रूपमा अघि बढ्यो।

अहिले सम्म कसकसका शव्दमा गीत गाउनु भएको छ ?

अहिलेसम्म कालीप्रसाद रिजाल, राजेन्द्र थापा, शैलेन्दु प्रकाश नेपाल, नरेन्द्र भट्ट, बसन्त ढकाल र डा. दामोदर रेग्मीका शब्दमा गाएको छु। कवि दुष्यन्त कुमारको हिन्दी कविता चिराग मयस्सर नहीं र जावेद अख्तरको नज्म आवाजें दो मा पनि स्वर हालेको छु। रिजाल र थापाका गीत सबैको लागि एल्बममा समेटिएका छन्। एकल साँझमा ती गीतसँगै बसन्त ढकाल, शैलेन्दु प्रकाश नेपाल र नरेन्द्र भट्टका रचना पनि प्रस्तुत भएका थिए। त्यसपछि एक्लो बाटोको पुनःसृजना, राजेन्द्र थापाको पानी दे, बसन्त ढकालको यसपाली र डा. दामोदर रेग्मीको वासन्ती सुवास सार्वजनिक भएका छन्।

दिल्लीमा तपाइ के गर्दै आउनु भएको छ ?

दृष्टिविहीन बालकका लागि राम्रो शैक्षिक अवसर खोज्दै मलाई सन् १९९१ मा दिल्ली पठाइएको थियो। त्यसयता यहीँ बस्दै आएको छु। सन् २००८ देखि दिल्ली विश्वविद्यालयसँग आबद्ध दयाल सिंह कलेजमा अंग्रेजी साहित्य पढाउँदैछु। साहित्यले ममा कलाको आस्वादन, आलोचनात्मक हस्तक्षेप र सामाजिक रूपान्तरणप्रतिको लगाव जगायो।

गीतकार डा दामोदर रेग्मीको गीत गाउन पाउंदा कस्तो अनुभूति भयो ?

गत एक वर्षदेखि गीतकार दामोदर अंकलको शब्दमा गाउनु मेरो सपना थियो। आज त्यो सपना पूरा हुँदा गहिरो कृतज्ञता र शान्ति दुवै छ। उहाँका शब्दमा स्वर हाल्नु भनेको केवल एउटा गीत गाउनु होइन, लामो प्रतीक्षा पछिको साकार क्षण हो।

गीतकार डा दामोदर रेग्मी कस्तो गीतकार हुनुहुन्छ ?

डा. दामोदर रेग्मी दैनन्दिन जीवनका दृश्यलाई उच्च सौन्दर्यमा रूपान्तरण गर्ने गीतकार हुनुहुन्छ। उहाँका गीतमा बारम्बार आउने भाव हो पर्खाइ प्रेमको, सुखको वा पूर्णताको। खुसी, दुःख र त्यसबीचको पर्खाइमा उहाँको लेखाइ सहजै सर्छ। आधुनिक गीतको परम्परामा उहाँको ठाउँ स्पष्ट र महत्त्वपूर्ण छ।

बासन्ती सुवास कस्तो गीत हो ?

वासन्ती सुवास आधुनिक गीतको चेत बोकेको रचना हो। यसमा पर्खाइ मुख्य भाव हो, जसलाई प्रेम, सुख वा जीवनको पूर्तिको प्रतीक्षाका रूपमा पढ्न सकिन्छ। सामान्य जीवनका बिम्बहरू यहाँ काव्यात्मक उचाइमा पुग्छन्। खुसी, विरह र त्यसबीचको मौन पर्खाइ एकै प्रवाहमा बाँधिएका छन्। त्यसैले यो गीत आधुनिक नेपाली गीतको परम्परामा राम्ररी अट्छ।

गीत संगीतका वारेमा आगामी योजना के छ ?
घरमै रेकर्ड गर्ने र सामाजिक सञ्जालमा बाँड्ने क्रमलाई निरन्तर राख्ने सोच छ। सामाजिक राजनीतिक स्वर बोकेका गीतमा विशेष रमाइलो लाग्छ, त्यसै दिशामा नयाँ रचना पनि गर्दै जानेछु। पुराना गीतको पुनःसृजना र नयाँ शब्दमा संगीत भर्ने काम दुवै अगाडि बढाउने योजना छ।