लहान। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले अहिलेको सरकार सही मार्गमा नहिँडेको आरोप लगाएका छन्।
एक कार्यक्रममा बोल्दै यादवले सरकारको काम र गतिविधिहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै आलोचना गरे। उनले भने, “प्रधानमन्त्री र मन्त्रीहरूको अभिव्यक्तिले नै सरकार असफल भइरहेको देखिन्छ।”
पूर्वमन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमा संविधान संशोधनको पक्षमा चर्को कुरा गरे पनि पछि आफू नै पछि हटेको आरोप लगाए। सुशासनका विषयमा मन्त्री र सचिवहरूप्रति प्रधानमन्त्रीको गुनासोले सरकारको कमजोरी उदांगो पारेको उनको भनाइ छ।
उपाध्यक्ष यादवले हालको सरकारले जनहितभन्दा पनि कांग्रेस र एमालेका नेताहरूको व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाउँदै यसले मुलुकमा निराशा बढाएको टिप्पणी गरे।
उनका अनुसार सरकारको गतिविधिले जनताको जीवनस्तर सुधार गर्नुभन्दा पनि निराशाजनक वातावरण सिर्जना गरेको छ। “सरकार जनअपेक्षा पूरा गर्न असफल भएको छ,” यादवले थपे।