काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले एकताको संवादलाई तीव्रता दिन उच्चस्तरीय वार्ता समिति गठन गरेको छ। पार्टीका वरिष्ठ सह–अध्यक्ष सवेन्द्र नाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण सदस्य रहने गरी उक्त समिति गठन गरिएको अध्यक्ष महन्थ ठाकुरले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
राजनीतिक अधिकारका लागि संघर्षरत शक्तिहरूबीच संवाद, सहकार्य, र कार्यगत एकता आजको आवश्यकता रहेको जनाउँदै लोसपाले यसअघि गठन गरेको पाँच सदस्यीय कार्यदललाई खारेज गर्दै नयाँ समिति बनाएको हो। खारेज गरिएको कार्यदलमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा. सुरेन्द्रकुमार झा, र महासचिव मनिषकुमार मिश्र सदस्य थिए।
मधेश क्षेत्रका राजनीतिक दलहरूबीच सहकार्य र एकताको प्रयासमा अन्य दलहरूले पनि सक्रियता देखाइरहेका छन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले राजकिशोर यादवको नेतृत्वमा सहकार्य समिति गठन गरिसकेको छ। त्यस्तै, सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच सहकार्य प्रयास जारी छ। जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि मधेशी शक्तिहरूलाई एकताका लागि अपील गर्दै संवाद सुरु गरेका छन्।
यस कदमले मधेशको राजनीतिक भविष्य र दलहरूको सहकार्यलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !