
काठमाडौं माघ २३। त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तय गर्दै तयारीलाई तीव्र बनाएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले निर्वाचन प्रक्रिया अगाडि बढेको जानकारी दिए।
निर्वाचनको तयारीबारे छलफल गर्न त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनहरूलाई उपकुलपतिको कार्यालयमा बैठकमा बोलाएको थियो। लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट सह-महासचिव सिद्धार्थ यादव बैठकमा सहभागी भएका थिए।
महत्वपूर्ण प्रस्ताव र मागहरू
सह-महासचिव यादवले स्ववियु निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन विभिन्न महत्वपूर्ण प्रस्तावहरू राखेका थिए। उनका मुख्य मागहरूमा निम्न विषयहरू समावेश थिए:
पूर्ण समानुपातिक प्रणालीको माग: स्ववियु निर्वाचनमा समानुपातिक प्रणाली लागू गर्न जोड।
मतदाता नामावलीको एकरूपता: देशभरि एकरूप मापदण्डमा मतदाता नामावली प्रकाशन गर्न आग्रह।
डिजिटल परिचयपत्र लागू गर्ने: आधुनिक प्रविधिको प्रयोग गरी डिजिटल आईडी कार्डमार्फत निर्वाचनमा जाने प्रस्ताव।
निर्वाचन अधिकृतको स्वतन्त्रता: निर्वाचन अधिकृत कुनै पनि राजनीतिक विचारधाराबाट स्वतन्त्र र नेपाल सरकार वा निर्वाचन आयोगका कर्मचारी हुनुपर्ने माग।
पक्षपात गर्नेलाई कारबाही: निर्वाचन अधिकृतले पक्षपात गरे तुरुन्त हटाई सहायकलाई जिम्मेवारी दिने व्यवस्था।
स्वयमसेवकको व्यवस्थापन: निर्वाचनका दिन हरेक संगठनबाट समान संख्यामा स्वयमसेवक परिचालन गर्नुपर्ने।
तालाबन्दीमा कारबाही: निर्वाचनको मुखमा तालाबन्दी गर्ने पार्टीका व्यक्तिहरूलाई कारबाही गर्ने व्यवस्था।
यादवले सबै क्याम्पसमा संगठन विस्तार गर्दै स्ववियु निर्वाचन केन्द्रित कार्यक्रम सुरु गर्न महासचिव सुमन कुमार यादवको निर्देशनमा परिपत्र जारी भइसकेको जानकारी दिए। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण क्याम्पस कमिटीलाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसकेको पनि उनले बताए।
निर्वाचनलाई तोकिएको मितिमा सम्पन्न गर्न क्याम्पस कमिटी विद्यार्थी नेताहरूबीच निरन्तर छलफल भइरहेको छ।
लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रोशन मिश्रलाई विशेष धन्यवाद दिइएको थियो। मिश्रले सम्पूर्ण विद्यार्थीलाई नयाँ सोच, विचार, र ऊर्जा प्रदान गर्दै नेतृत्व विकासमा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे भनेर सह महासचिव यादवले बताए।