काठमाडौं, फागुन १६ – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट भातृसंगठन लोकतान्त्रिक विद्यार्थी संघ आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पूर्ण रूपमा सक्रिय भएको छ। निर्वाचनलाई व्यवस्थित ढंगले अगाडि बढाउन संगठनले अनुशासन, परिचालन, आर्थिक र प्रचार-प्रसार समितिहरू गठन गरेको छ।
लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्ष विद्यार्थी नेता रोशन मिश्रले मिति २०८१ फागुन १६ गते संगठनका सम्पूर्ण केन्द्रीय कार्यसमितिलाई विभिन्न समितिमा जिम्मेवारी तोकेको जानकारी दिएका छन्। उनले संगठन तथा संगठनबाट उम्मेदवार बनेका विद्यार्थी नेताहरूलाई आवश्यक सहयोग र समन्वय गर्ने विश्वासका साथ सम्बन्धित सबैलाई सफल कार्यकालको शुभकामना दिएका छन्।
समिति संयोजकहरू र सदस्य संख्या
गठित समितिहरूमा निम्नानुसार संयोजक र सदस्यहरूको नियुक्ति गरिएको छ –
अनुशासन समिति – केन्द्रीय उपाध्यक्ष सुरेश मण्डल संयोजक, ३१ सदस्य
परिचालन समिति – केन्द्रीय महासचिव सुमन कुमार यादव संयोजक, ३१ सदस्य
आर्थिक समिति – केन्द्रीय महासचिव सम्मर साह संयोजक, ३१ सदस्य
प्रचार-प्रसार समिति – केन्द्रीय सह-महासचिव सिद्धार्थ यादव संयोजक, ३१ सदस्य
लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय महासचिव सुमन कुमार यादवका अनुसार संगठनले स्ववियु निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउनेछ। संगठनको प्रचारका क्रममा माथि रातो, तल हरियो र विचमा माथितिर फर्केको कलम रहेको लोगो प्रमुख रूपमा प्रयोग गरिने जानकारी उनले दिएका छन्।
“चैत्र ५ मा लोकतान्त्रिक विद्यार्थी संघको विशाल विजय हुनेछ”
स्ववियु निर्वाचनलाई लक्षित गर्दै संगठनले “क्याम्पस-क्याम्पसमा विद्यार्थीले के भन्छन्? चैत्र ५ गते लोकतान्त्रिक विद्यार्थी संघलाई ल्या भन्छन्!” भन्ने नारासहित गतिविधि तीव्र पारेको छ। संगठनका नेताहरू विद्यार्थीहरूबीच जनसम्पर्क बढाउँदै संगठनको एजेन्डा र नीतिहरू प्रस्तुत गर्न सक्रिय रहेका छन्।
आउँदो चैत्र ५ गतेको स्ववियु निर्वाचनमा लोकतान्त्रिक विद्यार्थी संघको प्रभावशाली उपस्थिति रहने दाबी गर्दै महासचिव यादवले “लोकतान्त्रिक विद्यार्थी संघको जित विशाल हुनेछ” भन्दै सबै विद्यार्थी मतदातालाई समर्थन गर्न आग्रह 



गरेका छन्।

