काठमाडौं, विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएसँगै यसलाई चाँडो पारित गरियोस् भन्ने मागसहित हाल काठमाडौं केन्द्रित आन्दोलनमा रहेका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई नेपाल सरकारले वार्ताका लागि पुनः आमन्त्रण गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मिति २०८१ साल चैत्र २१ र २२ गते छलफल तथा परामर्शका लागि आह्वान गरे पनि औपचारिक रूपमा संवाद हुन नसकेको जनाउँदै, मन्त्रालयले भोलि मिति २०८१/१२/२७ गते नेपाल शिक्षक महासंघलाई राहत तथा अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायत सबै पक्षको प्रतिनिधित्वसहित वार्ताका लागि उपस्थित हुन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार साषकोटाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा वार्ताको समयतालिका आपसी सल्लाह अनुसार तय गरिने उल्लेख गरिएको छ।