
काठमाडौँ, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयद्वारा नयाँ नियुक्त कर्मचारीहरूका लागि आयोजित १६ दिने लघुवित्त सञ्चालन तथा व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
सङ्गठनको संस्थागत दक्षता अभिवृद्धि तथा कर्मचारीहरूको सीप विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस तालिममा देशभरबाट सहभागी नयाँ कर्मचारीहरूले लघुवित्त सेवा सञ्चालन, वित्तीय व्यवस्थापन, ग्राहक सम्बन्ध, र सामाजिक उत्तरदायित्वसम्बन्धी विविध पक्षहरूमा ज्ञान हासिल गरेका छन्।
तालिमको समापन समारोहमा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपकनिधि तिवारीले तालिममा सहभागी सबै नयाँ कर्मचारीहरूलाई छिमेक परिवारमा हार्दिक स्वागत गरेका थिए। उहाले कर्मचारीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै, सेवा–प्रवाहमा इमानदारिता, समर्पण र व्यावसायिक दक्षताको निरन्तर विकास गर्न प्रेरित गरेका थिए।
तालिमलाई सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई संस्थाले आभार व्यक्त गरेको छ। साथै, सहभागी सबै कर्मचारीले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी संस्थाको प्रगति र ग्राहक सेवामा थप योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
छिमेक लघुवित्तले आगामी दिनहरूमा पनि यस्ता तालीम तथा अभिमुखीकरण कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्ने जानकारी दिएको छ।