काठमाडौं, भदौ २३, २०८२ नेपालको राजधानी काठमाडौंमा आज जेन जेड पुस्ताले सोशल मिडिया प्लेटफर्महरूमा लगाइएको ब्यान र व्यापक भ्रष्टाचारविरुद्ध गरेको प्रदर्शन हिंसक बनेको छ। फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटक, स्न्यापच्याट, व्हाट्सएप, टेलिग्रामसहित २६ वटा प्लेटफर्ममा सरकारले प्रतिबन्ध लगाएपछि युवाहरूले ‘हामी नेपाल’ समूहको आयोजनामा सडकमा उत्रिएर विरोध जनाए। प्रदर्शनकारीहरूले न्यू बानेश्वरस्थित संघीय संसद् भवनतर्फ मार्च गर्दा प्रहरीको गोली र दमनका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। सेनालाई तैनाथ गरिएको छ र कर्फ्यूसमेत घोषणा गरिएको छ।
माइतीघर मण्डलाबाट सुरु भएको यो प्रदर्शन न्यू बानेश्वर पुग्दा तनावग्रस्त बनेको हो। आन्दोलनकारीहरूले जेन जेड रिभोलुसनको नाममा भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुशविरुद्ध नारा लगाए। प्रहरीको अश्रुग्यास र लाठीचार्जपछि प्रदर्शनकारीहरूले बैरिकेड भत्काएर संसद् भवनमा प्रवेश गरेको समाचार प्राप्त भएको छ। यो हिंसात्मक झडपले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीको राजीनामाको मागलाई तीव्र बनाएको छ।
युवा नेता मनिष यादवले यो आन्दोलनबारे हामीलाई बताउँदै भने, यो जेन जेड पुस्ताको क्रान्ति हो। सरकारले सोशल मिडियामाथि ब्यान लगाएर हाम्रो अभिव्यक्ति स्वतन्त्रता खोस्ने प्रयास गरेको छ। प्रहरीको गोली र दमनले हाम्रा साथीहरूको रगत बगेको छ, यो जिम्मेवारी ओली सरकारले लिनुपर्छ। हामी तत्काल सोशल मिडिया ब्यान हटाउन र भ्रष्ट नेताहरूको राजीनामा माग्छौं। यो विद्रोह अब रोकिँदैन।
समाजवादी युवा संघ नेपालका युवा नेता तथा प्रखर वक्ता उद्यमी ओम यादवले हामीलाई भने, जेन जेड आन्दोलनले नेपालको भविष्य बदल्नेछ। सरकारको दमनकारी नीतिले युवाहरूलाई सडकमा ल्याएको छ। हामी शान्तिपूर्ण प्रदर्शन गर्छौं, तर सरकारले गोली चलाएर हामीलाई आतंककारी बनाउन खोज्दैछ। सोशल मिडियाको ब्यान फुकुवा र भ्रष्टाचारको अन्त्य नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ।
मानवअधिकार संगठनहरूले यो हिंसाको स्वतन्त्र छानबिनको माग गरेका छन् भने अन्तर्राष्ट्रिय समुदायले नेपालको लोकतान्त्रिक अवस्थामाथि चिन्ता व्यक्त गरेको छ। सामाजिक सञ्जालमा #GenZProtestNepal #LiftSocialMediaBan #EndCorruption ह्यासट्यागहरू ट्रेन्डिङमा छन्। विश्लेषकहरूले यो आन्दोलनले नेपालको राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने र सरकारको स्थिरतामाथि गम्भीर चुनौती खडा गरेको बताएका छन्।

तपाईको प्रतिक्रिया !